ल्यापटप देख्दा डराउने शिक्षकहरू अचेल कक्षामा चलाउँदैनन् मार्कर! – Setopati

khairahani-school3-1765294312 (1)
Picture of Water Center 21 Pahal

Water Center 21 Pahal

चितवनको माडी–४ स्थित खैरहनी माविका अंग्रेजी विषयका शिक्षक दिपनारायण महतोलाई केही महिना अघिसम्म ल्यापटप छुन पनि डर लाग्थ्यो।

कतै कार्यक्रममा पुग्दा अरू शिक्षकले ल्यापटप चलाएर सहजै प्रस्तुति दिएको देख्दा उनलाई कम्प्युटर प्रविधिको ज्ञानको कमीले पछुतो हुन्थ्यो।अचेल दिपनारायण बदलिएका छन्। उनको कक्षाकोठा पनि पूरै बदलिएको छ।

उनी अहिले आफ्नो विषयवस्तुलाई ई–लाइब्रेरी बाट तयार पार्छन्। ल्यापटपमा सुन्दर स्लाइडहरू बनाउँछन्। र, डिजिटल स्मार्टबोर्ड तथा प्रोजेक्टरबाट विद्यार्थीहरूलाई आधुनिक ढंगले पढाउँछन्।६ वर्षदेखि यो स्कुलमा गणित विषय पढाइरहेका बाराका अर्विनकुमार यादवको समस्या पनि दिपनारायणको जस्तै थियो। तर केही दिनको सिकाइले उनको कक्षामा नसोचेको परिवर्तन आउन थालेको छ।

‘मैले सबै अध्यायहरूको पिडिएफ बनाएको छु। ई–लाइब्रेरीबाट आवश्यकता अनुसार सामग्री निकाल्छु। आवश्यक परे भिडिओ पनि प्रयोग गर्छु,’ अर्विनले भने, ‘चित्र, भिडिओ देखाएर पढाउँदा विद्यार्थीले राम्ररी बुझेका छन्। समय पनि बचत भएको छ।’

दिपनारायण र अर्विनसँगै माध्यामिक तहका अनिवार्य विषय पढाउने सबै शिक्षक अचेल स्मार्टबोर्ड र प्रोजेक्टर प्रयोग गर्छन्। तल्लो तहका कक्षाहरूमा पनि आवश्यकता अनुसार स्मार्टबोर्ड प्रयोग गरिन्छ। खैरहनी माविका शिक्षकहरूमा आएको यो उल्लेखनीय परिवर्तन रोटरी क्लब अफ नारायणगढले सञ्चालन गरेको ‘टिचर्स ट्रेनिङ सपोर्ट प्रोजेक्ट’ को परिणाम हो। यस परियोजना सञ्चालनमा आएपछि शिक्षकदेखि विद्यार्थीसम्म कम्प्युटर प्रविधिमा अभ्यस्त हुन थालेका हुन्।

खैरहनी माविका शिक्षक र विद्यार्थीलाई सूचना प्रविधिमा दक्ष बनाउन रोटरी क्लब ओमाग, डब्लिन नर्थ, डब्लिन फिनगल, रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ११६० नर्दन आयरल्यान्डले आर्थिक सहयोग गरेका थिए।

वाटर सेन्टर–२१ पहल नामको संस्थाका अध्यक्ष विनोद कर्माचार्यको पहलमा प्राप्त अन्तर्राष्ट्रिय सहयोग ५४ लाख रूपैयाँ खैरहनी माविका शिक्षक र विद्यार्थीलाई सूचना प्रविधिमा दक्ष बनाउने कार्यक्रमका लागि खर्च गरिएको हो। यहाँका विद्यार्थी सूचना प्रविधिमा दक्ष बनेको हेर्ने इच्छा रहेको कर्माचार्यले बताए। 

रोटरी क्लब अफ नारायणगढका अध्यक्ष सेवन पन्तले ग्रामीण क्षेत्रका बालबालिकाको सूचना प्रविधिमा पहुँच बढाउन क्लबले सहयोग गरेको बताए।

‘आर्थिक अभावका कारण सूचना प्रविधि सम्बन्धी अध्ययनमा समस्या भएको विद्यालय खोजी गर्दा हामी खैरहनी मावि आइपुगेका थियौं। यहाँका धेरै बालबालिकाहरुले कम्प्युटर छुन पनि पाएका थिएनन्,’ उनले भने, ‘हामीले इन्टरनेसनल ग्रान्टबाट विद्यालयका लागि आवश्यक सामग्रीसहित शिक्षकलाई तालिम प्रदान गरेर सहयोग गरेका हौं।’

स्कुललाई बीस वटा डेस्कटप कम्प्युटर, ५ वटा ल्यापटप, ४ वटा डिजिटल स्मार्टबोर्ड, नेटवर्किङ डिभाइस, सोलार ब्याकअप सिस्टम, कम्प्युटर ल्याब र ई–लाइब्रेरीका लागि आवश्यक सफ्टवेयर, इन्टरनेट लगायत १५ प्रकारका सामग्री प्रदान गरिएको क्लबका दिपेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

रोटरीले शिक्षकहरूलाई कम्प्युटरमा दक्ष बनाउन ६ महिनाका लागि एक जना प्रशिक्षक व्यवस्था गरेको छ। ती प्रशिक्षकले नियमित रूपमा स्कुल पुगेर शिक्षकहरूलाई सिकाउँछन्।

कम्प्युटर प्रशिक्षक रूक्मान पुरीले धेरैजसो शिक्षकलाई कम्प्युटर माउस समाउनबाटै सिकाउनुपरेको बताए।

khairahani-school4-1765294312.JPG
‘केहीले धेरै पहिले कम्प्युटर सिक्नुभएको रहेछ। तर लामो समय नचलाउँदा बिर्सिनुभएको थियो। कोही त कहिल्यै नचलाएका पनि हुनुहुन्थ्यो। मैले सिक्न चाहने सबै शिक्षकलाई पढाउन आवश्यक पर्ने तरिकाहरू सिकाइरहेको छु,’ उनले भने, ‘शिक्षकहरू निकै रूचि साथ सिक्दै हुनुहुन्छ। राति १०–११ बजेतिर पनि फोन गरेर सोध्नुहुन्छ।’

केही महिनाम‍ै शिक्षकहरूको प्रगति देखेर खुसी लागेको रूक्मानले बताए।

शिक्षकमा जस्तै विद्यार्थीमा पनि सूचना प्रविधिप्रतिको मोह निकै धेरै भएको उनले बताए।

‘शिक्षकलाई सिकाएर खाली बसेको समयमा विद्यार्थीहरू पनि सिकाइदिनुपर्‍यो भन्दै आउँछन्। समय मिल्दासम्म सिकाइरहेको छु,’ रूक्मानले भने, ‘शिक्षकहरूले जानेपछि विद्यार्थीलाई उहाँहरूले पनि सिकाउँदै जानुहुन्छ।’

खैरहनी माविका प्रधानाध्यापक कुलानन्द भुसालका अनुसार अहिले ६ वटा कक्षामा प्रविधि प्रयोग गरेर पढाइन्छ। चार वटामा स्मार्टबोर्ड र दुइटामा प्रोजेक्टरबाट पनि अध्यापन गराइन्छ।

‘शिक्षकहरूलाई सूचना प्रविधि प्रयोगको दक्षताको आधारमा ए, बी र सी वर्गमा छुट्टाएका छौं। दक्षहरू एमा पर्नुहुन्छ। बी र सी वर्गका लागि थप सिकाउँदै दक्ष बनाउन प्रयास गरिरहेका छौं,’ प्रधानाध्यापक कुलानन्दले भने, ‘माध्यामिक तहका पाँच जना शिक्षक कम्प्युटर र स्मार्टबोर्डमा दक्ष भइसक्नुभयो। उहाँहरूले कक्षामा मार्कर लिएर जान छाड्नुभयो।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुभास तिवारीले विगतमा स्कुलमा केही थान कम्प्युटर भए पनि शिक्षकहरू दक्ष नहुँदा प्रयोगविहीन बनेको बताए।

रोटरी क्लबले प्रशिक्षक सहित सहयोग गरेपछि पहिलेका सामग्री पनि काममा आउन थालेको छ।

khairahani-school5-1765294314.JPG

‘पाठ्यक्रममा कक्षा ६ देखि कम्प्युटर समावेश छ तर दक्षता नभएकाले शिक्षकले किताबमा भएका सामान्य कुरा मात्र पढाउनु हुन्थ्यो,’ सुभासले भने, ‘विद्यार्थीले कम्प्युटर छुन पनि पाएका थिएनन्। अहिले प्रयोगात्मक सिकाइ नै हुन्छ। विद्यार्थीहरू फुर्सद भएपछि ई–लाइब्रेरीमा समय बिताउन थालेका छन्।’

खैरहनी मावि २०६५ सालदेखि प्रस्तावित माध्यामिक विद्यालय बनेको हो। यहाँ ३७० जना विद्यार्थी र शिक्षक तथा कर्मचारी २८ जना छन्।

सुभासका अनुसार ६ महिनाका लागि भनेर रोटरीले दिएको प्रशिक्षकका कारण विद्यालयमा धेरै परिवर्तन आउन थालेको छ। अहिलेको अवस्थामा थप सुधार ल्याउन एक जना नियमित कम्प्युटर शिक्षक आवश्यक पर्छ।

‘अनि प्रस्तावित माविबाट दरबन्दीसहितको मावि बनाउन प्रयास गरिरहेका छौं,’ उनले भने, ‘हामी यो स्कुललाई सूचना प्रविधिमा अब्बल भनेर चिनाउन चाहन्छौं।’

माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले स्कुलका लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताइन्।

‘यो म आफै पढेको स्कुल हो। यसको भवन बनाउँदा मेरो परिवारले जग्गा दान गरेको छ। त्यसैले मलाई पनि राम्रो बनाउन सहयोग गर्ने इच्छा छ,’ उनले भनिन्।

khairahani-school2-1765294312.JPG

Source: SETOPATI

Share this post

Related Posts