माडीको थारु महिला कृषक समूह : हस्तकला सीपमार्फत आत्मनिर्भरतातर्फ अग्रसर, ४८ महिला दिदीबहिनीको संगठित पहल

tharu-madi
Picture of Water Center 21 Pahal

Water Center 21 Pahal

२२ बैशाख, चितवन । माडी नगरपालिका वडा नम्बर–१, गर्दीस्थित थारु महिला कृषक समूहले स्थानीय स्रोत, परम्परागत सीप र सामूहिक संगठनलाई उपयोग गर्दै हस्तकला उत्पादनमार्फत आत्मनिर्भरता र आर्थिक सशक्तीकरणको उदाहरण प्रस्तुत गर्दै आएका छन्। परम्परागत रूपमा कृषि र घरायसी काममा सीमित मानिँदै आएका थारु समुदायका महिलाहरू अहिले व्यवसायिक उत्पादन, सीप विकास र बजार विस्तारतर्फ सक्रिय रूपमा अघि बढिरहेका छन् ।

२०७५ सालमा स्थापना भएको यस समूहमा हाल ४८ जना महिला दिदीबहिनीहरू आबद्ध छन् । समूहको कामलाई व्यवस्थित र प्रभावकारी बनाउन छवटा उपसमूह गठन गरिएको छ, जसअन्तर्गत प्रत्येक उपसमूहमा करिब ७ जना महिलाहरू सक्रिय रूपमा संलग्न छन् । समितिले माछापालन, हाँसपालन र बाख्रापालन जस्ता गतिविधिहरू समेत सञ्चालनमा ल्याउँदै सामूहिक उत्पादन, व्यवस्थापन र बजारिकरणलाई सहज बनाउन यस्तो संरचना विकास गरेको हो ।

नारायणगढ रोटरी क्लब, क्यानडास्थित बर्लिङ्टन सेन्ट्रल रोटरी क्लब तथा वाटर सेन्टर २१ को पहल तथा सहकार्यमा सञ्चालन गरिएको १० दिने हस्तकला तालिमपछि समूह अझ संगठित र सीपयुक्त बनेको हो। उक्त तालिम माडी नगरपालिका वडा नम्बर–१, गर्दीस्थित राष्ट्रिय आधारभूत विद्यालयमा सञ्चालन गरिएको थियो । तालिमपछि महिलाहरूले स्थानीय क्षेत्रमा सहजै पाइने घाँस, बाबियो, पटेरो, थाकल लगायतका प्राकृतिक सामग्रीको प्रयोग गरी विभिन्न उपयोगी तथा सजावटी हस्तकला सामग्री उत्पादन गर्न थालेका हुन् ।

उनीहरूले हर्डकेस फुलदानी, मोहनी, थरिया, बत्ती राख्ने भाँडो, सामग्री राख्ने बाकस, टाउकोमा लगाउने टोपी, गुन्द्री, महिलाको झोला, किनमेलका लागि प्रयोग हुने झोला, मोबाइल राख्ने झोला, कलम राख्ने भाँडो, अण्डाकार किस्ती, गोलाकार भाँडो तथा कफ राख्ने ट्रे जस्ता सामग्रीहरू निर्माण गर्दै आएका छन्।
समूहकी अध्यक्ष हिरामती चौधरी, जो माडी प्रज्ञा प्रतिष्ठानकी सदस्यसमेत हुनुहुन्छ, उहाँले समूहको सुरुवातदेखि नै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ। समूह गठन भएपछि महिलाहरूको जीवनशैलीमा उल्लेखनीय परिवर्तन आएको उहाँ बताउनुहुन्छ। उहाँका अनुसार, “पहिले हामीसँग सानो खर्चका लागि पनि घरपरिवारसँग रकम माग्नुपर्ने अवस्था थियो। अहिले अवस्था उल्टिएको छ, परिवारले नै हामीसँग सहयोग माग्ने अवस्था आएको छ। सीप र मेहनतले आत्मनिर्भर बनाएको छ।”

उहाँले समूहले बिक्रीबाट प्राप्त आम्दानीको १० प्रतिशत रकम समूहकोषमा जम्मा गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो, जसले सामग्री खरिद, आपतकालीन खर्च तथा समूह सञ्चालनमा ठूलो सहयोग पुर्‍याएको छ। आवश्यक परेमा सोही कोषबाट सदस्यहरूलाई सहयोग गर्ने गरिएको छ।

समूहकी सहसचिव धन राजिया चौधरीका अनुसार समूहमा आबद्ध हुनुअघि महिलाहरूबीच सामाजिक दूरी, कम संवाद र आत्मविश्वासको कमी थियो। तर समूह गठन र तालिमपछि उनीहरूबीच आपसी सम्बन्ध मजबुत हुनुका साथै फुर्सदको समयलाई आम्दानीको स्रोतमा रूपान्तरण गर्न सफल भएका छन् । उहाँ भन्नुहुन्छ, “पहिले हामी जम्मा भएर खुलेर कुरा गर्ने अवस्था पनि थिएन। अहिले एउटै काम, एउटै उद्देश्यले जोडिएर काम गरिरहेका छौँ। यो समूहले हाम्रो पहिचान नै बदलिदिएको छ।”

उत्पादित सामग्रीहरू चितवन, काठमाडौँ, नवलपरासी, मकवानपुर लगायत विभिन्न जिल्लामा बिक्रीका लागि पुग्ने गरेका छन्। वैदेशिक रोजगारीमा जाने युवायुवतीहरूले समेत यस्ता हस्तकला सामग्री साथमा लैजाने गरेका छन् । माडी क्षेत्रमा सञ्चालनमा रहेका गृहआवास (होमस्टे) तथा कृषि फार्म आवासबाट समेत नियमित माग आउने भएकाले उत्पादनको बजार अभाव नरहेको समूहको भनाइ छ ।

थारु समुदायमा परम्परागत रूपमा महिलाहरू घरायसी काम र कृषिमा सीमित रहने चलन भए पनि अहिले उनीहरू व्यवसायिक रूपमा संगठित हुँदै समाजमा सक्रिय रूपमा देखिन थालेका छन्। यस परिवर्तनले थारु समुदायको सामाजिक पहिचान, आत्मविश्वास र आर्थिक अवस्था मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। माडी क्षेत्रमा आदिवासी समुदायका रूपमा परिचित थारु जातिको पहिचानलाई यस समूहको सक्रियताले अझ सशक्त बनाएको छ।

समूहका सदस्यहरू अहिले हस्तकला उत्पादनसँगै भविष्यमा गृहआवास सञ्चालन, गर्ने योजनामा रहेका छन्। गुणस्तरीय उत्पादन र बजार विस्तारका लागि स्थानीय तह तथा सरोकारवाला निकायबाट थप सहयोगको अपेक्षा गरिएको छ।

यसरी २०७५ सालदेखि सुरु भएको थारु महिला कृषक समूहले परम्परागत सोचलाई तोड्दै सीप, संगठन र आत्मनिर्भरतामार्फत माडी क्षेत्रमा नयाँ सामाजिक तथा आर्थिक पहिचान स्थापित गर्दै गएको छ ।

SOURCE RACEKHABAR

Share this post

Related Posts

Business Development Officer

Water Center Twenty One पहल, a non-profit organization, with it’s head office in Bharatpur, Chitwan district intends to hire a BUSINESS DEVELOPMENT OFFICER for the project “Women Led Sanitary

Read More »

ल्यापटप देख्दा डराउने शिक्षकहरू अचेल कक्षामा चलाउँदैनन् मार्कर! – Setopati

चितवनको माडी–४ स्थित खैरहनी माविका अंग्रेजी विषयका शिक्षक दिपनारायण महतोलाई केही महिना अघिसम्म ल्यापटप छुन पनि डर लाग्थ्यो। कतै कार्यक्रममा पुग्दा अरू शिक्षकले ल्यापटप चलाएर सहजै

Read More »

Food Distributions

Covid Support 19th  June 2021, Madi Rural Municipality, Nepal During the global Covid pandemic, many families were struggling to full fill their daily essential needs

Read More »